संसदको यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ : राजेन्द्र लिङदेन

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, १२ : २१
संसदको यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

राप्रपाभित्र सरकारमा जाने र नजाने विषयमा दुई धार छ । चुनाव जितेर सांसद बनेकाहरू अवसर पाएसम्म सरकारमा जानुपर्ने पक्षमा छन् भने चुनाव हारेका र सांसद नरहेकाहरू प्रतिपक्षमा बस्नुपर्ने अडानमा । यी दुई टकरावको चुपुवामा पर्दै आएका छन् अध्यक्ष लिङ्देन ।

केही दिनअघि बसेको कार्यसम्पादन समिति वैठकमा पनि सरकारमा सहभागीताको प्रसंग उठ्यो । स्रोतकाअनुसार सधैँ झैं बैठकमा दुई धार देखिए । अन्ततः लिङदेनले दुवै पक्षको मुख बुझो लगाउँदै घोषणा गरे, ‘संसदको बाँकी चार वर्षे कार्यकालमा म सरकारमा जान्न ।’

लिङ्देनले आफू व्यक्तिगतरुपमा सरकारमा नगए तापनि राप्रपा सरकारमा जाने सम्भावनाको ढोका भने बन्द गरेका छैनन् । यस विषयमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठसँग प्रश्न गर्दा उनले आवश्यकता अनुसार राप्रपा सरकारमा जान सक्ने बताए ।