साँच्चै नसाटिने हुन् नेपालमा रहेका पुराना भारु ?

विहीबार, २१ भदौ २०७५, ०९ : ०५
साँच्चै नसाटिने हुन् नेपालमा रहेका पुराना भारु ?

बीबीसी । नेपाल र भारतबीच सरकारी स्तरमा सहमति भए मात्र नेपालका ब्याङ्कहरूमा रहेका प्रतिबन्धित पुराना भारतीय पाँच सय र एक हजारका नोट साटिने नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन् ।

भारतीय रिजर्व ब्याङ्क र नेपाल राष्ट्र ब्याङ्कबीच भएका अहिलेसम्मका वार्तामा कुनै निष्कर्ष ननिस्केकाले अब दुई देशका सरकारबीच नै उक्त विषयमा छलफल हुनुपर्ने राष्ट्र ब्याङ्कका अधिकारीले बताए ।

झण्डै दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात "नोटबन्दी"को घोषणा गरेपछि हालसम्म पनि करोडौँ मूल्यका त्यस्ता भारु नेपाली ब्याङ्कहरूमा थन्किएका छन्  ।

गत साता आफ्नो वार्षिक प्रतिवेदन पेश गर्दै भारतीय केन्द्रीय ब्याङ्कले "नोटबन्दी"पश्चात् लगभग सबै प्रतिबन्धित नोट भारतीय ब्याङ्किङ्ग प्रणालीमा फर्किएको उल्लेख गरेको थियो ।

त्यसमा नेपालमा रहेका बाँकी त्यस्ता नोटबारे अब के हुने भन्ने उल्लेख छैन । अर्थात् भारतले नेपालमा थन्किएका पुराना प्रतिबन्धित भारु नलिने आशय देखिएको छ।

छलफल
"नोटबन्दी"को घोषणा लगत्तै देखि नेपाल राष्ट्र ब्याङ्क तथा रिजर्व ब्याङ्कबीच पटकपटक छलफल भए । तर राष्ट्र ब्याङ्कका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना स्वयम् ठान्छन् यसको समाधान ती ब्याङ्कको हातमा अब छैन ।

नेपाल र भारतका सरकारबीच उच्च स्तर मै ठोस पहल भए मात्र नेपालमा रहेका ती नोट साटिने अवस्था आउने उनले बताए ।

उनले भने, "'नोटबन्दी' गरेको भारत सरकारले हो। नेपाल सरकार र भारत सरकारबीच सहमति भयो भने नोट साट्न सम्भव छ। तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले नै ठोस पहल गर्नुपर्ने देखिन्छ ।"
नेपालमा प्रतिबन्धित पाँच सय र एक हजार रुपैयाँका करिब ८ करोड रुपैयाँ रहेको अनुमान राष्ट्र ब्याङ्कको छ ।

ठूलै मर्का
तर सर्वसाधारणसँग पनि धेरै परिमाणमा त्यस्ता भारतीय रुपैयाँ रहेकाले उनीहरूलाई ठूलै मर्का परेको नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

उनले भने, "ब्याङ्कहरुलाई त करिब आठ करोड घाटा भयो । तर सर्वसाधारणले भारतमा रोजगारी गरेर कमाएर ल्याएका पैसा पनि साटिएनन्। धेरै सर्वसाधारणको भारु घरमा थन्केका छन् ।"

आक्रोश
भारतले "नोटबन्दी"को प्रक्रिया लगभग समाप्त भएको जनाएका समाचार प्रकाशमा आएका छन् । उस्तै समस्या परेको भुटानको भारु साटिदिएको तर नेपालको भने नसाटिदिएकोमा राष्ट्र ब्याङ्कका अधिकारीहरू समेत आक्रोशित सुनिन्छन् ।

कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने, "त्यस्तै पैसा भुटानको साट्ने । अनि नेपालको चाहिँ किन नसाट्ने ? त्यस्तो त नहुनु पर्ने हो ।"

साढे तीन महिना जति पहिला जनकपुर र मुक्तिनाथ दर्शन गर्न आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका भारतीय पाँचसय र एक हजारका नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । तर ती कुराकानी हालसम्म फलदायी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस