माघीका अवसरमा खिचरा महोत्सव

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०८०, १२ : २९
माघीका अवसरमा खिचरा महोत्सव

चितवन । थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीका बारेमा जानकारी गराएको हो ।

माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवरद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विगत नौ वर्षदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० कक्ष रहनेछन् ।

महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न सङ्घसंस्थाका कक्ष रहनेछन् । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान समावेश गरिने उनले बर्ताए । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस