नेपाली सेना चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्दै

पत्रपत्रिकाबाट

मंगलबार, १९ भदौ २०७५, ०७ : ४१
नेपाली सेना चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्दै

नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको छ । बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको हो ।

‘नेपालको परराष्ट्र मामिला र सुरक्षा नीति’मा आधारित रहेर सैन्य अभ्यासले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको दायरा बढाउने नेपाली सेनाले जानकारी दिएको छ ।

बिम्स्टेक शिखर सम्मेलनअगावै यस प्रकारको अभ्यासको टुंगो लागेको सेनाको भनाइ छ । प्रधानसेनापति राजेन्द्र क्षत्री बिदामा बस्ने अघिल्लो दिन साउन २३ मा आफ्ना सकल दर्जा, अधिकृत र रथीलाई दिएको ९२ बुँदे बिदाइ सम्बोधनको ४७ र ४८ नम्बर बुँदामा सैन्य अभ्यासबारे उल्लेख भएको  छ ।

‘यसमा सहभागी मुलुकबीचको अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान हुन्छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘सरकारको निर्णयमा अन्तर्राष्ट्रिय स्तरका अभ्यासमा सेना सहभागी हुने गरेको छ ।’ अभ्यासलाई सैन्य कूटनीतिका साथै नेपाली सेनाको वृत्ति विकासको अवसरका रूपमा लिएको पनि उनले बताए ।

बिम्स्टेक राष्ट्रका सेनाको सहभागितामा अभ्यास हुने तर त्यहाँ नेपाली सेना नजाने हो भने कस्तो सन्देश जाला र त्यसले हाम्रो कूटनीतिलाई कसरी हेरिएला भन्ने कोणबाट पनि बहस हुनुपर्ने सैन्य अधिकारीले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सम्मेलनमै सैन्य अभ्यासको विषय राखेपछि यो चर्चामा आएको हो ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस