डाक्टर पनि सडकमा उत्रिएपछि बिरामीको बिजोग !

पत्रपत्रिकाबाट

सोमबार, १८ भदौ २०७५, ०८ : ०२
डाक्टर पनि सडकमा उत्रिएपछि बिरामीको बिजोग !

अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन् । चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन् । आकस्मिकबाहेक सेवाहरू ठप्प भएको थाहा पाएलगत्तै रुन थालिन् ।

संगीतालाई छोराको ज्यान बचाउने चिन्ता थियो । सिमसिमे पानीमा भिजेकी २१ बर्से रावतले सुँक्सुँकाउँदै भनिन्, ‘छोराको ज्यानको तलमाथि हुन्छ कि भन्ने चिन्ता छ ।’

संगीताझैं चिन्तित देखिन्थे, धादिङका दीपक गुरुङ। शिक्षण अस्पतालले छोरी दीपिकालाई मुटुको जाँच गराउन गंगालाल हृदयरोग केन्द्र पठाएपछि उनी तनावमा परे । गंगालाल अस्पतालको टिकट काउन्टर बन्द थियो । आपतकालीन कक्षमा पुगेका उनलाई चिकित्सकहरूले इको गर्न सेवा बन्द भएको जनाउँदै फर्काए ।

सुस्त देखिएकी छोरीको मुटुको परीक्षण गर्न जाँदा आपतकालीन कक्षका चिकित्सकले जवाफ फर्काए, ‘आज हड्ताल छ, केही गर्न सकिँदैन । अहिले नै मुटु परीक्षण नगर्दा केही बिगँ्रदैन । कुरा बुझ्नु भा छ नि ।’

चिकित्सक एवं स्वास्थ्यकर्मीको आन्दोलनका कारण थुप्रै बिरामीहरूले आइतबार सास्ती खेपे । दूरदराजबाट उपचार गर्न राजधानी आएका कति बिरामी अलपत्र परे भने कति होटलमा बसेर उपचार गर्दा बेखर्ची भएको गुनासो गरे ।

सरकारी मात्र होइन निजी अस्पतालले पनि अति गम्भीर अवस्थाका बिरामीबाहेक अन्यको भर्ना लिएनन् । मुलुकभरिका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द भए ।

बिरामीको स्वास्थ्य उपचारको संवेदनशीलतालाई मध्यनजर गर्न त्रिवि शिक्षण अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले चिकित्सक र स्वास्थ्यकर्मीलाई अनुरोध गरिन् । तर, उनको अनुरोधलाई चिकित्सकले टेरेनन्। वन्तले विज्ञप्ति प्रकाशित गरी आफ्नो पेशामा सहभागी भइदिन अनुरोध गरेकी थिइन् । तर चिकित्सकहरू माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ  ।

प्रतिक्रिया दिनुहोस