रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका ५३ जनाकै परिवारलाई राहत वितरण

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, २० : ३०
रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका ५३ जनाकै परिवारलाई राहत वितरण

काठमाडौँ । गत कात्तिक १७ गतेको भूकम्पमा परेर रुकुम पश्चिममा ज्यान गुमाउने ५३ जनाका परिवारलाई राहत वितरण गर्ने कार्य सम्पन्न भएको छ । भूकम्पमा परेर ज्यान गुमाउने ५३ जनाका परिवारलाई राहत उपलब्ध गराउने कार्य सकिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको हो ।

विभिन्न मितिमा विपद् पीडित उद्धार राहत सम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ अनुसार जिल्लाको आठ विसकोट नगरपालिकामा ३५ जना, सानोभेरी गाउँपालिकाका १० जना, चौरजहारीका एक जना, सल्यानका तीन जना, बर्दिया र रोल्पाका एक-एक जना गरेर प्रति मृतकला परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराइएको जनाइएको छ ।

प्रशासनका अनुसार एक भन्दा बढीको मृत्यु भएको अवस्थामा थप प्रति मृतक एक-एक लाखका दरले स्थलगत रूपमा नै नगदै राहत रकम हस्तान्तरण गरिएको हो । अहिलेसम्म मृतकका परिवारलाई ८३ लाख राहत वितरण गरिएको र ३२ घर परिवारका ५० जना मृतकका नजिकका कानूनी हकदारलाई वितरण गरिएको जनाइएको छ ।

जिल्लाको आठविसकोट नगरपालिकामा भूकम्पमा परेर मृत्यु भएका सल्यानको दार्मा गाउँपालिका ६ का २६ वर्षका भूमिका शाही र उनका चार वर्षका छोरा लेखनाथ मल्लका नजिकका कानूनी हकवाला तथा सल्यानकै कुपिण्डे नगरपालिका चारका तीन वर्षका बासुदेव बुढाका नजिकका कानूनी हकवालालाई जिल्ला प्रशासन कार्यालय सल्यानबाट राहत वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस