निर्मला हत्याको अनुसन्धानका लागि बम दिदीबहिनीलाई म्याद थपियो

विहीबार, १४ भदौ २०७५, २० : १२
निर्मला हत्याको अनुसन्धानका लागि बम दिदीबहिनीलाई म्याद थपियो

भीमदत्तनगर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ । 
जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । 
कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो । 
यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो । 
म्याद थप गरिएसँंगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस