बुटवल। छैटौं लुम्बिनी प्रादेशिक महोत्सवमा जहाजको झल्को दिन प्रवेशद्वार निर्माण गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको लागि दबाब दिन बुधवारदेखि भैरहवामा शुरू हुन लागेको महोत्सवमा ‘एयरबस’को प्रवेशद्वार निर्माण गरिएको हो ।
अरबौं खर्च गरेर निर्माण गरिएको विमानस्थल नियमित चल्न नसकेपछि जहाजको झल्को दिने गेट निर्माण गरेर राज्यलाई व्यङ्ग्यात्मक दबाब दिएको बताइएको छ ।
महोत्सव तयारीबारे जानकारी दिन मंगलवार आयोजित पत्रकार सम्मेलनमा उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले पाँच लाख रुपैयाँ खर्चेर ‘एयरबस’ आकारको प्रवेशद्वार बनाइएको बताए ।
‘हामी अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन पर्दछ भन्ने मागसहित अभियानमा छौं । यसका लागि जहाँबाट पनि हामी दबाब दिन सक्छौं भनेर ‘एयरबस’को गेट बनाएका हौं’ श्रेष्ठले भने ।
विमानस्थललाई हेरेर ठूलो लगानी गरेका निजी क्षेत्र एयरपोर्ट नचल्दा अबौं रूपैयाँ जोखिममा परेको छ । संगठनका पूर्वअध्यक्ष नारायण भण्डारीले विमानस्थल उद्घाटन भएको लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन नसकेपछि भैरहवाका उद्योगी/व्यवसायीले महोत्सवस्थलको प्रवेशद्वार नै विमानको झल्को दिने गरी बनाएको बताए ।
स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा महोत्सव हुँदैछ ।
महोत्सवको करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको संगठनका श्रेष्ठले बताए । महोत्सव अवलोकन गर्न आउने दर्शकलाई प्रवेश शुल्कः बापत ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले जनाए ।
शनिवार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्यस्तै, परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरूका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।
उद्योग व्यापार संगठन, रूपन्देहीका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक अनिलकुमार ज्ञवालीले उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।
महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ । जिल्लामा हरेक वर्षहरूमा लाग्ने मेला–महोत्सवमा लाखौं खर्च गरेर अस्थायी संरचनाहरू निर्माण गरिँदा ठूलो नोक्सान हुने गरेको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने