विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

बुधबार, १३ भदौ २०७५, ११ : ५१
विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ । सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहनुभएको छ । 

केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उहाँले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिनुभयो । 

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोल्नुभएको थियो । गत वर्ष प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणीकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानका लागि त्यसको तालीमसमेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो । 

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनुभएको छ । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख गिनिज वल्र्ड रेकर्ड्समा छ । रासस

प्रतिक्रिया दिनुहोस