सेन्ट्रल ग्रुपले थप चार क्षेत्रमा लगानी बिस्तार गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १५ : ३४
सेन्ट्रल ग्रुपले थप चार क्षेत्रमा लगानी बिस्तार गर्ने

भरतपुर ।  शैक्षिक क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित हुँदै गइरहेको सेन्ट्रल ग्रुपले थप चार क्षेत्रमा लगानी विस्तार गर्ने भएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा।ली र सेन्ट्रल मोडेल कलेज संचालन गर्दै आइरहेको ग्रुपले लगानी विस्तार गर्न लागेको हो ।

सेन्ट्रल ग्रुपले अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले चितवन,नवलपुरलाई केन्द्र बनाएर थप चार क्षेत्रमा लगानी विस्तार गर्न लागेको जानकारी दिए । उनका अनुसार गु्रपले फाउण्डेशन, मिडिया, ट्राभल एण्ड टुर र मेनपावरमा लगानी बढाउन लागेको हो ।

'अहिलेपनि धेरै क्षेत्रमा सामाजिक काम गर्दै आइरहेका छौं,पौडेलले भन्नुभयो,अझै विस्तार गर्दै लैजानका लागि फाउण्डेशन स्थापना गर्न लागेको हो ।’ उनले फाउण्डेशन मार्फत सामाजिक सेवाका काम निरन्तर गरिने बताए । बैदेशिक रोजगारीमा जाने चितवन, नवलपुर आसपासमा नागरिकलाई लक्षित गरेर मेनपावर संचालन गर्न लागेको पौडेलले बताए । यस्तै ग्रुपले मिडियामा समेत लगानी गर्ने भएको छ । चितवनलाई केन्द्र बनाएर राष्ट्रिय स्तरको मिडिया सञ्चालनको तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

सेन्ट्रल कलेजमार्फत उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थी र रोजगारी तथा भिजिटका लागि जानेहरुलाई लक्षित गरेर ट्राभल एण्ड टुर सञ्चालनको तयारी रहेको अध्यक्ष पौडेलले बताए ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ । मुख्य कार्यालय चितवनको भरतपुर ओरालोमा रही विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयको व्याचलर प्रोग्राम अन्तर्गत बिएचएम र बिआइएमका कक्षा संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस