काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताए ।
लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताए ।
“गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो”, उनले भने, “कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।”
नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए । वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे । उनले जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्ने बताए ।
“जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न अबको ध्यान केन्द्रित हुनुपर्छ, परिवर्तनको फल सबैले पाउनुपर्छ”, नेता सिंहले भने, “अहिले जनताले परिणाम खोजिरहेका छन्, जनताको जीवनस्तर उठाउनेतर्फ ध्यान दिनुपर्छ ।” सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “सबै दल मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक संविधानको प्रभावकारी कार्यान्वयनमार्फत तीनै तहका सरकारबीच आवश्यक समन्वय गरेर अगाडि बढ्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह