काठमाडौँ । सांसदहरुले दशैँ लगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यवस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे ।
बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल खाने दुर्गम क्षेत्रका नागरिकका लागि सरकारले सस्तोमा गुणस्तरीय खाद्य वस्तुहरु उपलब्ध गराउनुपर्ने बताइन् । उनले न्युन आयस्रोत भएका जनताले उपभोग गर्न नसक्ने गरी मूल्य वृद्धि बढेकाले त्यस्ता व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिए ।
सांसद लामाले भनिन्, ‘अहिले नजिकिदै गएको चाडपर्वमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य जनताको हितमा नरहेको, विशेष गरी न्युन आयस्रोत भएका व्यक्तिहरुले उपभोग गर्न नसक्ने, उनीहरुको चुलो नै निभ्न सक्ने गुनासाहरु आउन थालेका छन् ।
दुर्गम गाउँमा दशैँमा एक पटक चामल खानका लागि पनि मूल्यवृद्धिका कारण नसक्ने अवस्था आएको गुनासो गरिरहनुभएको छ । विशेष गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसमा न्युन मूल्य निर्धारण गरेर गाउँगाउँसम्म सहज रुपमा उनीहरुले गुणस्तरयुक्त खानेकुराहरु गर्नका लागि सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । ’
सांसद विनिताकुमारी सिंहले चाडपर्वका बेला कालोबजारी गर्ने जस्ता अपराधिक गतिविधि हुने गरेको भन्दै त्यसलाई समयमै रोक्न सरकारसँग माग गरिन् । उनले विषाधि चेकजाँच गरेर मात्रै खाद्य वस्तुहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरिन् ।
सांसद सिंहले भनिन्, ‘विषादी चेकजाँच गरेर मात्रै खाद्यवस्तुको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दशैँलगायतका चाडपर्वको मौका छोपेर खाद्य वस्तुमा पनि मिसावट गर्ने, आफूखुशी मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने । साथै म्याद गुज्रेका सामान बिक्रीवितरण गर्नेजस्ता अपराधिक गतिविधिहरु समयमै रोक्नका लागि सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’
सांसद विजुला रायमाझीले चाडबाडका बेला सवारी दुर्घटना अधिक हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले गुणस्तरहिन खाद्य वस्तुको बिक्रीवितरण हुन नदिनका लागि पनि सरकारलाई सचेत गराइन् ।
सांसद रायमाझीले भनिन्, ‘शहरको महंगी, कालोबजारी र गुणस्तरहिन वस्तु र सेवाले जनता पीडित हुँदैछन् । चाडबाडमा सवारी दुर्घटना प्रशस्त हुने र यो सवारी दुर्घटना न्युन गर्नका लागि सरकार चनाखो बनोस् । ’ सांसद रायमाझीले चाडपर्वका बेला जनतालाई मारमा पार्ने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार चनासो हुनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका सांसद गौचनको निधन
गोमालाई सांसद पदबाट हटाउन पत्राचार
राष्ट्रपतिलाई सांसदको सुझाव : कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई उजागर गर्नुस्
सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो : सांसद पन्त
२० मिटर जग्गा छोड्नुपर्ने फैसला पुनरावलोकन गर्नुपर्छ : धवलशमशेर राणा
किस्ट अस्पतालमा युवती मृत्युबारे छानबिन गर्न सांसदको माग