महिलाको घर जलाइयो, निर्वस्त्र पारेर घुमाइयो

एजेन्सी

मंगलबार, ०५ भदौ २०७५, ११ : ०३
महिलाको घर जलाइयो, निर्वस्त्र पारेर घुमाइयो

बिहारको भोजपुर जिल्लाको बिहिया शहरमा एक भीडले महिलालाई निर्वस्त्र पारेर घुमाएको घटना सार्वजनिक भएको छ । १९ वर्षे युवकको हत्या गरेको आशंकामा एक महिलालाई निर्घात कुटपिटसमेत गरिएको बीबीसीले बताएको छ ।   पुलिसका अनुसार उग्र भीडले सुरुमा महिलाको घरसहित वरिपरिका थुप्रै पसल र गाडीमा आगो लगाइदिएपछि पीडित  महिलालाई उनको घरबाट तानेर निर्घात कुटपिट गरेपछि शहरको बीचमा निर्वस्त्र पारेर घुमाएको थियो ।

घटनाको भिडियो सोसल मिडियामा व्यापक सेयर गरिएको छ  । जिल्लाका पुलिस सुपरिटेन्डेन्ट अवकाश कुमारले यो मामलामा बिहिया थाना प्रभारीसमेत आठ पुलिसलाई निलम्बित गरेको जानकारी दिए । भारतीय मिडियाका अनुसार रेलवे स्टेशन नजिकै १९ वर्षीय विमलेश कुमारको शव बदामद भएको थियो । विमलेशका आफन्तले बिहिया रेलवे स्टेशन नजिकै बस्ने एक महिलाले हत्या गरेको आशंका गरेका थिए ।

भीडले गुडिरहेको रेलमा पनि ढुङ्गामुढा गरेको अवकाश कुमारले जानकारी दिए । उनका अनुसार घटनास्थलमा पुगेका पुलिसले मानिसलाई नियन्त्रण गर्नका लागि हवाई फायरिङसमेत गर्नुपरेको थियो । भीडले गोलीबारीसमेत गरेको उनले जानकारी दिएका छन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस