चितवन । माग बमोजिमको सुन नपाएपछि चितवनका सुन चाँदी व्यवसायीहरुले आजबाट सुन पसलहरु बन्द गर्दै विरोधमा उत्रेका छन् । चितवन सुनचाँदी व्यवसायी संघले चितवनमा भएका ५ सय पसलहरु आज र भोलि बन्द हुने जानकारी दिएको छ । सुनमा सिण्डिकेट भएका कारणले भनेजति सुन नपाउँदा चितवनका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका हुन् ।
‘सुनमा सिण्डिकेट छ, यो खारेज नभएसम्म हामी विभिन्न चरणबद्ध तरिकाले आन्दोलनमा होमिने निर्णय गरेका छौँ, आज भोलि चितवनका सम्पूर्ण सुनचाँदी पसलहरु बन्द हुनेछ’ नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले भन्नुभयो, ‘आज हामी जिल्ला प्रशासन कार्यालयमा राष्ट्र बैंकमा पुग्ने गरी ज्ञापनपत्र बुझाउँछौँ ।’
संघका अध्यक्ष जीवनज्योति सदाशंकरले सरकारसँग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराउन आग्रह गरे पनि कुनै सुनुवाई नभएपछि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।
चाडबाडको बेला सुनको माग बढी हुन्छ । राष्ट्र बैंकले भनेजति सुन नपठाउँदा सुन व्यवसायी मर्कामा परेका हुन् । राष्ट्र बैंकले दिनको २० किलो सुन ‘क’ वर्गका कमर्सियल बैंकमार्फत सुन पठाउने गर्छ । त्यो सुनको ६० प्रतिशत सुन काठमाडौँ उपत्यकामा मात्र पठाउँछ । ४० प्रतिशत सुन काठमाडौँ बाहिर पठाउँछ ।
‘सिण्डिकेट भनेको यही हो, माग बमोजिमको सुन उपत्यका बाहिर पठाइएको छैन’ अध्यक्ष सदाशंकरले भन्नुभयो, ‘पहिलो काठमाडौँ र काठमाडौँ बाहिर ५०\५० थियो, त्यो पनि कार्यान्वयनमा आएन । चाडबाडका मुखमा चितवन जिल्लामा सुन पुग्दैन । साना व्यवसायीले सुन भेट्नै नसक्ने अवस्था छ ।’
देश संघीयतामा गएपछि प्रदेशअनुसार समानुपातिक तरिकाले सुन पठाउनु पर्ने र यसको सिण्डिकेट खारेज गर्नुपर्ने माग सुनचाँदी व्यवसायी संघ चितवनले गरेको छ । २०६८ सालदेखि राष्ट्र बैंकले क वर्गको बैंकमार्फत सुन पठाउँदै आएको छ । सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष विपीन रामुदामुले सीधै राष्ट्र बैंकमार्फत सुन किन्न पाउने व्यवस्था गरे व्यवसायमा प्रतिस्पर्धा हुने बताए ।
‘सरकारले दैनिक २० किलो सुन छुट्टाएर पुग्दैन, यसलाई बढाएर अफसिजनमा ३५ र सिजनमा ५० किलो बनाउनुपर्छ’ रामुदामुले भन्नुभयो । उहाँका अनुसार चाडबाडमा चितवनमा हव्ताको ४ किलो सुन मात्र आइरहेको छ, तर यहाँ हप्ताको ८\१० किलो सुन चाहिन्छ ।’ संघले व्यवसायी आफैँले सुन खरिद विक्री गर्न पाउनुपर्ने माग गरेका छन् । चितवनमा दिनको ५ किलो सुनको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस