कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप, प्रहरीको गोली लागी एकको मृत्यु

शुक्रबार, ०७ पुस २०७४, १७ : ०२
कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप, प्रहरीको गोली लागी एकको मृत्यु

म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट तनावग्रस्त बनेको छ । आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो ।

मृतक ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन । पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्‍याइएको थियो ।
अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।

दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रहरी विट जलाइयो
एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।

यता प्रहरीले भने बाध्य भएर गोली चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताए । उनले म्यादीको पैसा जिप्रकाबाट नकाटिएको समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस