अफगानिस्तान: गज्नीमा लडाइँ जारी, 'खाद्यान्न अभाव'

एजेन्सी

सोमबार, २८ साउन २०७५, २१ : २१
अफगानिस्तान: गज्नीमा लडाइँ जारी, 'खाद्यान्न अभाव'

बीबीसी । तालिबानसँग लडाइँ चर्किँदै जाँदा अफगानिस्तानको गज्नीमा खाद्यपदार्थको अभाव हुन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। आइतवार गज्नी छोडेर भागेका एक व्यक्तिले त्यहाँ जनजीवन कष्टप्रद हुँदै गएको र खानेकुरा एवम् पानीको अभाव भएको बीबीसीलाई बताएका छन्। शुक्रवार राति चारैतिरबाट तालिबानले आक्रमण गरेपछि चर्किएको युद्धमा एक सय जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। तीमध्ये अधिकांश सरकारी फौज र प्रहरीमा कार्यरत व्यक्तिहरू रहेका छन्। गज्नी सहर काबुल र कान्दाहारबीच रहेको एउटा महत्त्वपूर्ण राजमार्गमा अवस्थित छ। त्यहाँ नियन्त्रण राख्न सके तालिबानले काबुलको दक्षिण अफगानिस्तानसँगको सम्पर्क विच्छेद गरिदिनसक्छ।

स्थिति दयनीय
स्थानीय सञ्चारमाध्यमका अनुसार काबुलस्थित निर्वाचन आयोगनजिकै भएको एउटा विस्फोटनमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। बम विस्फोट हुँदा सो स्थानमा एउटा विरोध प्रदर्शन हुँदै थियो।सहरबाट बाहिरिएका व्यक्तिहरूका अनुसार गज्नीमा गैरसैनिकहरूका लागि स्थिति दयनीय छ। सयवटा भन्दा बढी शवहरू अस्पताल लगिएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार सहरका सडकमा थुप्रै शवहरू छन्। अहिलेसम्म १४० जना भन्दा बढी घाइते भएका छन्।

"मुख्य अस्पतालमा उपचार दुर्लभ भएको छ, मानिसहरू घाइतेलाई उपचारका लागि सुरक्षित रूपमा ल्याउन सकिराखेका छैनन्," संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजकले सोमवार एउटा विज्ञप्तमा भने। "सहरभित्रबाट प्राप्त केही विवरणहरूका अनुसार धेरै परिवारहरू घरभित्रै बसेका छन् र बाहिर निस्किन सकेका छैनन्। दुई लाख ७० हजार मानिस बस्ने सहरमा महत्त्वपूर्ण दूरसञ्चार सञ्जाल र विद्युत्त आपूर्ति बन्द भएका छन्। त्यसले पानी आपूर्तिलाई पनि प्रभाव पारेको छ। खाद्यपदार्थ पनि घटिरहेको बताइएको छ।"

प्रतिक्रिया दिनुहोस