काठमाडौँ । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ५ अर्ब ८४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । ऋणपत्रका लागि बिहीबार (साउन ३२ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने र शुक्रबार भदौ १ मा ऋणपत्र निष्काशन गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ‘विकास ऋणपत्र ०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ‚ जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
सरकारको लक्ष्यअनुसार राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ । गत आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकोमा त्यसको ९९.९९ प्रतिशत प्रगति गरेको थियो ।
यद्यपि गत वर्ष सरकारले पहिलो त्रैमासमा आन्तरिक ऋण संकलन नगरी दोस्रो त्रैमासबाट मात्र सुरु गरेको थियो । यस वर्ष वित्तीय प्रणालीमा तरलता अधिक रहेको र ब्याजदर पनि कम रहेकाले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल