काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज बिहान काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा भएको भेटमा उनले सो धारणा राखेका हु्न् । ‘पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने ।
राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायलाई उनले आह्वान गरे ।
उनले मुलुकमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने समेत बताए । मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै संकट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेकोमा उनले जोड दिए ।
प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक संघ, संस्थाको अस्तित्वसमेत नामेट हुने भन्दै सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजलाई आह्वान गरे ।
भेटमा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, सचिव प्रा.डा. अकलदेव मिश्र लगायत सहभागी थिए । अध्यक्ष वाग्लेको नेतृत्वमा वैचारिक समाजको नवनिर्वाचित प्रतिनिधि मण्डलले शीर्ष नेतासँगको भेटवार्तालाई निरन्तरता दिनेक्रममा यसअघि कांग्रेस नेता डा. शेखर कोइराला र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह