दल र जनप्रतिनिधि नसच्चिए राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नुपर्छ : कृष्णप्रसाद सिटौला

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, १६ : ४४
दल र जनप्रतिनिधि नसच्चिए राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दल र निर्वाचित जनप्रतिनिधि पुरानै ढंगबाट अघि बढे राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नु पर्ने बताएका छन् ।मंगलबार नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिको बधाई तथा शुभकामना कार्यक्रममा सिटौलाले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको भन्ने गुनासो बढेको बताए ।

उनले राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधि बितेको पाँच वर्षको जस्तै गरेर पुरानै ढंगबाट अघि बढे राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नु पर्ने बताएका हुन् ।

'देशमा परिवर्तन आयो, संविधान बन्यो, गणतन्त्र आयो, तर जनताले हामीले के पायौँ भनेर प्रश्न गर्न थालेका छन्।, जनताको गुनासो बढेको सुनिन्छ, राजनीतिक दलहरूले सुन्नु पर्दैन ?, जनप्रतिनिधिहरूले जनताको गुनासो सुन्नु पर्दैन ?, बितेको पाँच वर्षमा जस्तै गरेर चल्ने हो भने अबको पाँच वर्षमा राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नु पर्ने अवस्था आउन सक्छ, त्यसतर्फ परिवर्तनका पक्षमा उभिएका राजनीतिक दलले ध्यान दिनुपर्छ, निर्वाचित जनप्रतिनिधिले ध्यान दिनुपर्छ', सिटौलाले भने ।

सिटौलाले संविधान कार्यान्वयनमार्फत जनतालाई लोकतन्त्रको उपलब्धि दिलाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस