विवादमा तानिदै मोन्सान्टो, २९ करोड डलर हर्जाना

शनिबार, २६ साउन २०७५, ०९ : ०३
विवादमा तानिदै मोन्सान्टो, २९ करोड डलर हर्जाना

विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ ।

एकजना व्यक्तिले ग्लाइफोसेट नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा मोन्सान्टोलाई दण्डात्मक हर्जना तिर्न आदेश दिइएको हो ।

एउटा ऐतिहासिक मुद्दामा क्यालिफोर्नियाको जुरीले मोन्सान्टो कम्पनीका राउन्ड अप र रेन्जरप्रो लगायतका झारनाशक विषादीहरू खतरनाक रहेको र त्यसबारे उपभोक्तालाई सचेत गराउन उक्त कम्पनी विफल भएको जनाएको हो । ग्लाइफोसेट नामक विषादीले क्यान्सर हुनसक्छ भन्ने खालको अदालतमा पुगेको यो पहिलो मुद्दा हो ।

उजुरी
मोन्सान्टोले भने ग्लाइफोसेटले क्यान्सर हुनसक्छ भन्ने कुरा अस्वीकार गरेको छ र अहिलेको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

"जुरीले यसलाई गलत रूपमा लिएको छ," सान फ्रान्सिस्कोस्थित अदालतबाहिर उक्त कम्पनीका उपाध्यक्ष स्कट प्याट्रिजले भने ।
यो मुद्दाका उजुरीकर्ता डिवेन जनसन मुद्दा हाल्ने अमेरिकाभरिका करिब ५ हजारमध्येका एक हुन् ।

क्यालिफोर्नियाले गरेको यो आदेशले मोन्सान्टोविरुद्धका अरू सयौँ उजुरीको प्रतिनिधित्व गर्ने सञ्चारकर्मीले बताएका छन् । सन् २०१४ मा जनसनलाई एक प्रकारको क्यान्सर लागेको देखिएको थियो ।

उनका वकिलहरूले उनले क्यालिफोर्नियाको बेनिसियास्थित विद्यालयमा काम गर्दा निरन्तर रूपमा रेन्जरप्रो नामक झारनाशक विषादी प्रयोग गर्ने गरेको बताएका छन् ।

सहानुभूति
शुक्रवार न्यायाधीशहरूले मोन्सान्टो कम्पनीको झारनाशक विषादीले जनसनलाई अहिले जस्तो रोगी बनाउन उल्लेख्य भूमिका खेलेको बताएको हो । ग्लाइफोसेटको प्रयोग लामो समयदेखि विवादमा पर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पनि यो विषादीले क्यान्सर लगाउनसक्ने जनाएको छ । तर अन्य केही वैज्ञानिकहरूले चाहिँ यो प्रयोग गर्न सुरक्षित नै हुने बताएका छन् ।

विषादी
आठ साता लामो सुनुवाइपछि न्यायाधीशहरूले कृषिसम्बन्धी बहुराष्ट्रिय कम्पनीलाई सबै गरेर करिब २९ करोड डलर दण्डात्मक हर्जाना तिराउने आदेश दिएका हुन् । एउटा विज्ञप्तिमा मोन्सान्टोले जनसन र उनको परिवारप्रति आफ्नो सहानुभूति रहे पनि आफ्नो उत्पादनको बचाउमा जोडदार रूपमा लाग्ने जनाएको छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस