गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ ।
विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियारहरू अथवा घातक रसायन प्रयोग गरेकोमा आफू ढुक्क रहेको जनाएको छ ।
संसदका रिपब्लिकन सांसदहरूको दबाबपछि विदेशमन्त्रालयले मस्कोले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुन तोडेकोबारे आफू स्पष्ट रहेको जनाएको हो ।
यी नयाँ प्रतिबन्धहरूमा संवेदनशील खालका इलेक्ट्रोनिक सामानहरूलगायत अन्य प्राविधिक कुराहरूको निर्यात पर्छन् ।
कानुन उल्लंघन
स्क्रिपाल र उनको छोरीमाथि रासायनिक विषको प्रयोग गरेलगत्तै करिब पाँच दर्जन कूटनीतिज्ञहरूलाई निष्कासित गरेको ट्रम्प प्रशासनले रुसले अन्तर्राष्ट्रिय कानून तोडेको औपचारिक रुपमा बताएको हो ।
तर संसदले त्यस्तो निर्णयका लागि दबाब दिँदै आएको थियो र अहिले विदेशमन्त्रालयले रुसले रासायनिक हतियार प्रयोग गरेर सन् १९९१ को कानून तोडेको पुष्टि गरेको हो ।
त्यस्तो उल्लंघनका लागि कुनै पनि देशमाथि अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रोपटक मात्रै हो । ब्रिटिश सरकारले अमेरिकाको यो कदमको स्वागत गरेको छ । -बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ साउन २०७५, ०९ : ४३
लेखकबाट थप