तल्लो समितिको एकताका लागि ओली–प्रचण्ड सक्रिय

पत्रपत्रिकाबाट

मंगलबार, २२ साउन २०७५, ०८ : ३१
तल्लो समितिको एकताका लागि ओली–प्रचण्ड सक्रिय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका भ्रातृ सङ्गठन, मोर्चा, विभाग, प्रदेश, जिल्ला तथा स्थानीय समितिबीच चाँडै एकता टुङ्गो लगाउन छलफल गरेको छ ।

पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो समितिहरूको एकीकरण चाँडो टुङ्गो लगाउने निष्कर्ष निकालिएको हो ।

केन्द्रीय समितिको मात्र एकीकरण भएको छ र बाँकीको एकीकरण नहुँदा पार्टी क्रियाशील जस्तो नदेखिएको भन्दै यसलाई चाँडै टुङ्गो लगाएर अगाडि बढ्नुपर्ने विषयमा दुवै अध्यक्षले छलफल गर्नुभएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ ।
एकीकरणका लागि बनेका विभिन्न कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्ने र आउँदो भदौ ५ गतेभित्र सम्पूर्ण एकता प्रक्रिया टुङ्गो लगाउने दुई अध्यक्षको निष्कर्ष छ । गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतापछि जेठ ६ गते बसेको सचिवालय बैठकले तीन महिनाभित्र सबै सङ्गठनको एकता प्रक्रिया टुुङ्गो लगाउन निर्देशन दिएको थियो । त्यसका लागि विभिन्न कार्यदल बनेको थियो ।
एकता प्रक्रिया चाँडो टुङ्गो लगाउन कार्यदलका लागि कार्यादेश पनि बनाइएको थियो । पछि कार्यादेशले पनि काम गर्न नसकेपछि पार्टीको नियमावली समेत बनाइएको छ । सोही नियमावली र कार्यादेशका आधारमा एकता प्रक्रिया अगाडि बढेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस