निर्मल निवासभित्र राजावादीलाई ‘नो इन्ट्री’ !

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १२ : २६
निर्मल निवासभित्र राजावादीलाई ‘नो इन्ट्री’ !

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि निर्मल निवासमा पुगेका राजावादीहरुलाई प्रवेश निषेध गरिएको छ। निर्मल निवासमा प्रवेश नदिइएपछि गेटमै पूर्वराजाको नाममा पुष्पगुच्छा र अभिनन्दनपत्र बुझाएर राजावादीहरु फर्किएका छन् ।  पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीहरुले एक समितिनै गठन गरेका थिए ।

सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुग्दा ज्ञानेन्द्र शाह भने त्यहाँ थिएनन् । पूर्वराजा नभएको भन्दै उनीहरुलाई प्रवेश पनि नदिइएको हो ।  पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको पुष्टि गरे ।

जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेको जानकारी आफूलाई आएको उनले बताए ।  यस्तै बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनको भनाइ । 

राजावादीहरु भेला भएर पूर्वराजालाई अभिनन्दन गर्न लाग्दा उहाँचाहिँ किन अनुपस्थित हुनुभएको भन्ने प्रश्नमा पाठकले भने, ‘जनतालाई दुःख नदिने खोजेको होला नि !’ राजाले सकेसम्म जनतालाई दुःख नदिने उनको जिकिर थियो ।  यसअघि नै पूर्वराजाको जन्मदिन मनाउन केशरी महतोको अध्यक्षतामा नागरिक मुल समारोह समिति बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस