साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् ।
उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।
नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए । त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो ।
राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो । अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
‘मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एक/एक पैसा दिनुभएको छ । त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘ममाथि अन्याय भएको थियो । त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ साउन २०७५, ०९ : ०२
लेखकबाट थप