कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पुनः मागे विश्वासको मत

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, १२ : ५४
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पुनः मागे विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन पुनः सबै राजनीतिक दलसँग माग गरेका छन् ।  विश्वासको मत लिनुअघि आजको प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गरेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बसेको थियो ।

मुख्यमन्त्री कार्कीले हिंजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।आजको बैठकमा विख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् । उनको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ । त्यसक्रममा उनले अर्को सरकार गठन हुने सम्भावना नरहेको भन्दै विधि, पद्धती र संवैधानिक व्यवस्थाको विषयमा हेक्का राख्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।

 

त्यसक्रममा उनले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताए । कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने भएका हुन् ।

कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस