पशुपतिनाथ मन्दिरमा जलहरी पुनर्स्थापना गरिँदै

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १५ : ४९
पशुपतिनाथ मन्दिरमा जलहरी पुनर्स्थापना गरिँदै

काठमाडौं । पशुपतिनाथ मन्दिरमा निकालिएको जलहरी पुनर्स्थापना गरिँदैछ । नियमित पूजा र आरती गरेपछि अहिले जलहरी पुनर्स्थापना गर्न लागिएको हो।सुनको मात्रामा विवाद भएपछि आइतबार पशुपतिनाथको गर्भगृहमा राखिएको जलहरी निकालिएको थियो। 

सुनको जलहरीमा अनियमितता भएको चौतर्फी आलोचना भएपछि अख्तियार दुरुपयोग अनुन्धान आयोगले पशुपतिनाथमा राखिएको सुनको जलहरीको तौल जोखेको थियो।

आयोगले पशुपति विकास कोष,नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी,जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको सुनको मात्रा जोखेको थियो। 

सुन जोखिने र परीक्षणको काम सकिएकाले आज जलहरी पुनर्स्थापना गर्न लागिएको हो।  जलहरी पुनरस्थापना गरिने भएपछि पशु्पतिनाथ मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो । महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख छ। तर पुष्टि हुन सकेको छैन। 

अनुसन्धान आयोगले यसबारे छानबिन गरिहेको छ।
facebook sharing button