हरारे । जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ ।
सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भन्नुभएको छ । ‘यो निर्वाचन धाँधलीपूर्ण रुपमा गराइएको छ, हामी यस्तो नतिजा अस्वीकार गर्दछौँ’ उहाँले भन्नुभयो ।
तर पनि जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको स्पष्ट पारेको छ । यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएको थियो ।
गएको नोभेम्बरमा सत्ताच्यूत ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । मुगाबेलाई पदबाट हटाएपछि मान्गाग्वा नै राष्ट्रपति हुनुभएको हो ।
गत सोमबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति मान्गाग्वा नै विजयी हुनुभएको शुक्रबार बिहान निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छ ।
परिणामअनुसार मान्गाग्वाले २४ लाख ६० हजार ४६३ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०.८ प्रतिशत हो ।
त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४३६ अर्थात् ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।
यस परिणामप्रति प्रतिपक्षी दलको औपचारिक प्रतिक्रिया भने आएको छैन । निर्वाचनमा धाँधली भएको भन्दै यहाँको विपक्षी गठबन्धनले मतगणना शुरु भएदेखि नै विरोध गर्दै आएको थियो ।
राजधानी हरारेमा भएको प्रदर्शन दबाउन प्रहरी र सेनाको गोली लागेर छ जनाको मृत्यु भइसकेको छ । लामो समय सत्तामा रहेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई पदबाट हटाइएपछि यहाँ पहिलो पटक आमनिर्वाचन भएको हो । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ साउन २०७५, १७ : ५७
लेखकबाट थप