जीतपुर सिमरामा विद्यार्थी न्यून भएका विद्यालय समायोजन प्रक्रियामा

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १२ : ४७
जीतपुर सिमरामा विद्यार्थी न्यून भएका विद्यालय समायोजन प्रक्रियामा

बारा । जीतपुर सिमरा उपमहानगरले जिल्लामै पहिलो पटक विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयहरूको समायोजन सुरु गरेको छ । उपमहानगरले वडा नं १४ स्थित जनचेतना आधारभूत विद्यालयलाई सोही वडाको जनता माध्यमिक विद्यालय रजघट्टासँग समायोजन गरेको हो । कक्षा ५ सम्म अध्यापन भइरहेको जनचेतना आधारभूत विद्यालयमा जम्मा ३० जना विद्यार्थीहरू अध्ययन गर्दै आएका थिए ।

१ जना कार्यालय सहयोगी सहित ६ जना शिक्षक रहेको सो विद्यालयको भौतिक सम्पत्तिसहित उपमहानगरले नजिकैको जनता माविमा रजघट्टामा समायोजन गरेको हो । उपमहानगरले चालु आर्थिक वर्षभित्र न्यून विद्यार्थी सङ्ख्या भएका ९ वटा विद्यालयलाई तत्कालका लागि समायोजनमा लैजाने तयारी गरे पनि जनप्रतिनिधिहरूको असहयोगका कारण बाँकी विद्यालय समायोजन अगाडि बढ्न नसकिएको उपमहानगरले जनाएको छ ।

 

चालु आर्थिक वर्षमा उपमहानगरले एउटा विद्यालयलाई घटुवा समेत गरेको छ । नगर शिक्षा ऐन २०७५ मा कमजोर विद्यालयलाई नजिकैको अर्को राम्रो विद्यालयसँग गाभ्न सकिने कानुनी व्यवस्था छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जनप्रतिनिधिहरूको आफ्नै मान्छेको प्रधानाध्यापक र शिक्षकको पद जाने डरले असहयोग गरेका कारण विद्यालय समायोजन र घटुवा कार्यक्रम यस वर्ष सफल हुन नसकेको बताए।

 

‘यस वर्ष नमुनाकै लागि भए पनि हामीले एउटा विद्यालय समायोजनको सुरुवात गरेका छौँ’ प्रशासकीय अधिकृत पुरीले भने  ‘सरकारी विद्यालयले प्रतिस्पर्धी र शैक्षिक गुणस्तरमा अगाडी फड्को मार्न सकेका छैनन्, यसको कारण हामीहरूले खोजिरहेका छौँ’ उनले भने ।जीतपुर सिमरा भित्र ६० वटा सरकारी विद्यालयहरू छन् । पर्याप्त सेवा सुविधा र भौतिक सुविधाका बिच पनि सरकारी विद्यालयहरूमा गुणस्तरीय शिक्षा नभएको पुरीको गुनासो छ । 

पुरीले निकट भविष्यमा विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय, शिक्षक समायोजन गर्ने, विद्यार्थी सङ्ख्याको आधारमा शिक्षकको दरबन्दी पुरा गर्ने बताएका छन् । विद्यालय समायोजन कार्यक्रममा जनता माविका प्रधानाध्यापक राजु अधिकारीले समायोजन भएर आएका शिक्षकहरूलाई सम्मानजनक ठाउँ दिने बताए । यसअघि नगरपालिकाले २०८० ज्येष्ठ १० गते विद्यालय गाभ्ने विषयमा पत्राचार गरेपछि सोही पत्रका आधारमा १३ गते बसेको अभिभावक भेलाले विद्यालय समायोजनका लागि सहमति गर्ने निर्णय गरेपछि मात्रै प्रक्रिया अगाडि बढाईएको जनचेतना आधारभूत विद्यालयकी प्रधानाध्यापक भवानी पाण्डेले बत्ताइन् ।

२०४२ सालमा स्थापना भएको जनता माविमा १ हजार १८२ छात्रछात्रा अध्ययनरत छन् । समायोजन भई आएको विद्यालयको भौतिक संरचनामा उपमहानगरको सहयोगमा नमुना मन्टेश्वरी शिक्षालय सञ्चालन गर्ने योजना रहेको प्रअ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस