काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पनि बहस जारी रहने भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा बिहीबार प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट थुनछेक बहस हुने भएको छ । प्रतिवादीको तर्फबाट बहस सकिएसँगै सरकारी वकिलहरुले जवाफी बहस सकेपछि आदेश आउनेछ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी कानुन व्यवसायीको बहसपछि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले निरन्तर बहस गर्दै आएका हुन् ।
जिल्ला न्यायाधीश न्यौपानेले बुधबारनै बहस सकेर आदेश दिनेगरी योजना बनाएको भए पनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुन पुगेको छ ।
भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको थियो ।
तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस हुन सुरु भएको हो । उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो ।
उक्त प्रकरणमा रु २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ । उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ