अमेरिकी गुप्तचर एजेन्सीहरुले उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाउँदै गरेको पत्ता लगाएका छन् । उनीहरुले यो जानकारी हालसालैका हप्ताहरुमा लिइएका भूउपग्रहीय तस्वीरहरु र अन्य नयाँ प्रमाणबाट प्राप्त गरेका हुन् । सोमबार वासिङ्गटन पोस्टले यो बारेमा रिपोर्ट दिएको छ ।
जुन महिनामा सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उन बीचको ऐतिहासिक वार्ता पछि केही हप्ता पछि नै प्योङ्गयाङ्गले मिसाइल बनाउँदै गरेको जस्तो देखिएको हो ।
गुप्तचरसँग परिचित एक अधिकारीका अनुसार यसमा एक वा दुई तरल इन्धन उक्त अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइलहरु छन् ।
सिंगापुरमा भएको दुई देशका राष्ट्राध्यक्षबीचको भेटवार्ता पछि उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको प्रक्रिया सुरु गरेको र त्यस क्रममा मिसाइल परीक्षण क्षेत्र नष्ट गरेको खबर आएको थियो ।
उत्तर कोरियाको राजधानी प्योङ्गयाङ बाहिर रहेको सानुमडोङ्ग क्षेत्रमा रहको उद्योगमा मिसाइल बनाईरहेको खबरमा दाबी गरिएको छ ।
मिसाइल निर्माण भइरहेको क्षेत्रमा सवारी साधन आउने–जाने गरेको देखिएको रिपोर्टमा उल्लेख छ । नेशनल जियोस्पासियल–इन्टेलिजेन्स एजेन्सबाट प्राप्त तस्बीरहरुले सानुमदोङ्ग संयन्त्रमा कम्तीमा एउटा ह्वासङ्ग–१५ आईसीबीएएमको काम जारी रहेको देखिएको छ ।
उत्तर कोरियाले सिंगापुर वार्तापछि पनि परमाणु हतियार सम्बन्धी कामलाई निरन्तरता दिएको भन्ने खबर यसअघि पनि सार्वजनिक भएको थियो । जुनको अन्त्यतिर अमेरिकी गुप्तचर निकायहरुबाट बाहिर आएको रिपोर्टमा उत्तर कोरियाले अझै पनि आफ्नो परमाणु क्षमतालाई बढाइरहेको उल्लेख थियो ।
गत हप्ता अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सिनेटलाई उत्तर कोरियाले ‘आणविक फिसाइल समाग्री’ बनाइरहेको जानकारी दिएका थिए । तर उनले त्यो अवसरमा उत्तर कोरियाले मिसाइल बनाए नबनाएको भने उल्लेख गरेका थिएनन् ।
सिंगापुर भेट पछि ट्रम्पले प्योङ्गयाङ्गबाट ‘अब आणविक खतरा नरहेको’ घोषण गरेका थिए । यसलाई उनले आफ्नो कुटनैतिक उपलब्धीको रुपमा प्रस्तुत गरेका थिए ।
तर किमले आफ्नो देशको आणविक र मिसाईल सेवामा भइरहेको कार्य रोक्नेबारे सार्बजनिक रुपमा केही बोलेका छैनन् । बरु उनले अन्तत हुने कोरियाली प्रायद्विपको आणविक निशस्त्रीकरणबारे बोलेका थिए ।
हाल मिसाइल निर्माण भएको देखिएको उद्योगमा नै उत्तर कोरियाको अमेरिका पुग्न सक्ने पहिलो अन्तर महादेशीय मिशाइल निर्माण गरेको थियो । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ साउन २०७५, १४ : ५८
लेखकबाट थप