चितवन । भरतपुर महानगरपालिकाले महानगरका विभिन्नि क्षेत्रलाई जोड्ने महानगरीय रिङरोड र लिङ्करोडको काम योजनावद्ध ढंगले अगाडि बढाएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय भरतपुरले रिङरोड र लिङ्करोडमध्ये दुई प्याकेजमा ६५ दशमलव तीन किलोमिटर सडक निर्माणको कार्य अगाडि बढाएको हो ।
कूल एक अर्ब ४६ करोड ६० लाख रूपैयॉको लागतमा निर्माण हुने सडकमध्ये पहिलो प्याकेज अन्तर्गत ८ दशमलव तीन किलोमिटर र दोस्रो प्याकेज अन्तर्गत एक दशमलव आठ किलोमिटर सडक रिङरोड अन्तर्गत निर्माण हुनेछ भने बॉकी ५७ किलोमिटर सडक महानगरीय रिङरोडलाई जोड्ने लिङ्करोड निर्माण हुनेछ ।
भरतपुर महानगरपालिकाका इन्जिनियर कृष्णबहादुर मल्लका अनुसार महानगरपालिकाको स्वीकृत योजना बमोजिम हाल निर्माण गरेको ८ किलोमिटर रिङरोडको न्यूनतम चौडाई २४ मिटरको हुनेछ । २४ मिटरमध्ये ७ मिटरको एक लेन, ५मिटरको अर्को लेन, बीचमा डिभाइडर, सडकको एकातर्फ साइकल लेन, दुबैतर्फ फुटपाथ र हरियाली रहनेछ । महानगरपालिकाको तर्फबाट रिङरोड र लिङ्करोड हेरिरहेका इञ्जिनियर मल्लले बॉकी ८८ किलोमिटर रिङरोडको डीपीआर तयार भैरहेको बताउनु भयो । रिङरोड कम्तीमा पनि २४ मिटर चौडाइको हुने र सम्भव भएका स्थानमा ३० मिटर चौडाइको हुने बताउँदै उहाँले त्यसै अनुसार डिटेल डिजाइन भैरहेको बताउनु भयो ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले सुरू गरेको दोस्रो प्याकेज अन्तर्गत पनि १ दशमलव ८ किमी रिङरोडको काम हुने इन्जिनियर मल्लले बतउनु भयो । यस खण्डको कामको सुरूवात नारायणगढको पुलचोकदेखि भैरहेको इञ्जिनियर मल्लले बताउनु भयो ।
महानगरले पहिलो चरणमा नारायणगढको पुलचोकदेखि नारायणी नदी किनार आसपासहँुदै वडा नम्बर ३, ४, १६, १७, २६, २७ र २८ को गोलाघाटहँुदै वडा नम्बर २३ को सिमानाबाट २२, १३, ९ नम्बर वडाहँुदै गोन्द्राङमा पुगेर टुंगिने छ, उहाँले भन्नुभयो, यी क्षेत्रमा अहिले डिटेल सर्भे डिजाइन र कुल लागत स्टिमेट गर्ने काम अगाडि बढिरहेको छ । कतिपय स्थानमा बरण्डाभार जंगल क्षेत्र पर्ने भएको कारण ईआईए गर्नुपर्नेछ । ईआईएको कामहरू पनि अगाडि बढिरहेको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयसँग समन्वय गरेर काम अगाडि बढाइरहेको, निर्माणको काम र बॉकी स्थानको ईआईए र डिपिआर गर्ने काम सँगसँगै अगाडि बढिरहेको इन्जिनियर मल्लले भन्नुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरको स्वीकृत योजना बमोजिम नै सहरी विकास तथा भवन डिभिजन कार्यालयले रिङरोड र लिङ्करोडको काम अगाडि बढाएको बताउनुु भयो । उहाँले धेरै सार्वजनिक जमिन अधिग्रहण गर्नु नपर्ने र वन क्षेत्रसमेत नपर्ने भएको कारण वडा नम्बर १३ र २२ को सिमानाबाट काम सुरू गरिएको बताउनु भयो । सम्बन्धित योजनालाई बजेट विनियोजन भइसकेको र तत्काल काम थालिहाल्नुपर्ने भएकोले सोही स्थान र पुलचोकबाट काम सुरू गर्न भवन डिभिजन कार्यालयलाई महानगरले आग्रह गरे अनुरूप काम भैरहेको सुवेदीको जोड थियो ।
अधिकांश रिङरोडको क्षेत्र राष्ट्रिय वन र ठुला नदी क्षेत्र पर्ने भएको कारण ईआईए लगायतका निश्चित मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ, जुन काम हामीले गरिरहेका छौँ, पहिलो चरणमा लिङ्करोडको काम बढी भएको हो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, सबै आयोजनाहरुमा डीपीआर तयार भइसकेपछिमात्रै काम सुरु हुन्छ भन्ने छैन । सडकको काम जहाँ सुरु भएको छ, त्यसको डीपीआर तयार गरेरै सुरु गरिएको छ । यो निरन्तर अगाडि बढ्ने प्रकृया हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका योजनावद्ध विकासको खाका तयार गर्न लागिपरेको बताउँदै रिङरोड निर्माण र यसको डिपिआर संगसंगै जाने बताउनु भयो । महानगरीय गुरूयोजनाभित्र समेटिने योजना र आवश्यकता अनुसार अगाडि बढ्ने प्रमुख दाहालले जोड दिनुभयो ।
हामीले महानगरपालिकाकै बृहद गुरूयोजना बनाइरहेका छौँ । यसबीचमा सबै क्षेत्रका विज्ञहरूसँग छलफल र परामर्श ग¥यौँ, अब त्यसलाई नक्सामा उतार्ने काममा लागेका छौँ, महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, हामीले रिङरोडको महत्वाकांक्षी परियोजना सुरू गरेका छौँ, जसका लागि अर्बौं रूपैयॉको लागत लाग्दछ । हामी एकैचोटी ठूला परियोजना सम्पन्न गर्ने अवस्थामा पनि छैनौँ । यो क्रमशः अगाडि बढिरहन्छ ।
भरतपुर महानगरपालिकाले हचुवाको भरमा रिङरोड र लिङ्करोड निर्माण गरेको भनी गरिएको टिकाटिप्पणीप्रति असहमति व्यक्त गर्दै महानगर प्रमुख दाहालले योजनावद्ध ढंगले काम अगाडि बढिरहेको बताउनु भयो ।
महानगरपालिकाभित्र रिङरोड तथा लिङ्करोडको काम गरिरहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख कुमार कोइरालाले महानगरको योजना अनुरूप आयोजनाहरू अगाडि बढिरहेको र यो तोकिएकै समयमा सम्पन्न गर्ने बताउनु भयो । हाल सुरू भएको ८ किमी रिङरोड दुई लेनको हुनुका साथै बीचमा डिभाइडर दुबैतर्फ फुटपाथ र एकातर्फ सााइकल लेन समेतको डिजाइन महानगरपालिकाले दिएको बताउनु भयो । दुई खण्डमा गरी कुल १३ वटा बाटाहरू दुई वर्षमा निर्माण भैसक्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रिङरोडको चौडाई २४ मिटर, लिङ्करोडको चौडाई १० देखि १६ मिटरसम्म रहने छ । जसमा कालोपत्रे ७ मिटर हुनेछ ।
प्रतिक्रिया दिनुहोस