पाकिस्तान चुनाव : विपक्षी समूहद्वारा नतिजा अस्वीकार, पुन: निर्वाचनको माग गर्दै आन्दोलन गर्ने चेतावनी

एजेन्सी

शनिबार, १२ साउन २०७५, ११ : ०६
पाकिस्तान चुनाव : विपक्षी समूहद्वारा नतिजा अस्वीकार,  पुन: निर्वाचनको माग गर्दै आन्दोलन गर्ने चेतावनी

पाकिस्तान । पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ । उक्त चुनावी परिणाम अनुसार पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने देखिएको छ । तर प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

चुनावमा धाँधली भएको आरोप लगाइए पनि इमरान खानको पार्टीको आकारले थुप्रै पर्यवेक्षकहरूलाई नै चकित पारेको संवाददाताले बताएका छन् ।

'बहिष्कार'
ती पार्टीहरूको संयुक्त छलफलपछि इस्लामाबादमा एक पार्टी नेताले आफूहरू पुन: निर्वाचनको माग गर्दै आन्दोलन गर्ने बताएका छन् । प्रतिद्वन्द्वी पार्टीमा पूर्व सत्तारुढ दल पीएमएल-एन पनि छ, जसले यसअघि आफू विपक्षमा बस्न तयार रहेको बताएको थियो ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भइ जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफले पार्टीले संसद् बहिष्कार गर्ने वा नगर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन् । पत्रकार सम्मेलनमा शरिफकै छेउमा बसेका एमएमए पार्टीका नेता तथा प्रवक्ता मौलाना फजालुर रहमानले फेरि चुनाव गराउनका लागि आफूहरू आन्दोलन गर्ने र प्रदर्शनहरू हुने बताएका छन् ।
एक दर्जनभन्दा बढी पार्टीका नेताहरूले चुनावपछि एउटा संयुक्त रणनीति बनाउनका लागि उक्त पत्रकार सम्मेलन गरेका थिए ।

चुनावी परिणाममा को कहाँ ?
चुनावमा खान र शरिफबीच प्रतिस्पर्धा हुने देखिएको थियो । धेरैजसो मतगणना भइसक्दा खानको पार्टीले राष्ट्रिय सभाको २७२ स्थानमध्ये ११५ मा अग्रता लिएको छ, जुन ६४ सीटमा अग्रता लिएको पीएमएल-एन भन्दा निकै अगाडि हो ।

तेस्रो स्थानमा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ४३ सीट जितेको छ । बिलावल हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । पीपीपी पार्टीले भने शुक्रवार भएको प्रतिद्वन्द्वी पार्टीहरूको भेलामा सहभागिता जनाएको थिएन ।
बहुमतका लागि जम्मा १ सय ३७ सीट आवश्यक पर्छ र प्रधानमन्त्री हुने बाटोमा देखिएका इमरान खानले गठबन्धन सरकार बनाउनुपर्ने देखिन्छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस