डा. गोविन्द केसीसँग भएको सहमतिबारे नेकपाले दियो आफ्नो संसदीय दललाई जानकारी

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०७५, १२ : २०
डा. गोविन्द केसीसँग भएको सहमतिबारे नेकपाले दियो आफ्नो संसदीय दललाई  जानकारी

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई शुक्रवार जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् ।

बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वाेच्चतालाई स्वीकार गरेको उनले बताए ।

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरूले गरेको नेता नेम्वाङले बताए ।

उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत कांग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरे ।

नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताको उपस्थिति थियो ।

काठमाडौं उपत्यकाका १० वर्षसम्म नयाँ मेडिकल कलेजका खोल्न नदिने प्राबधानसहित बिहीबार राति सरकार र आमरण अनशनरत डा केसीबीच २२ बुँदे सहमति भएको थियो ।

सहमतिपछि केसीले २७ दिने अनशन तोडेका थिए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस