काठमाडौँ । नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा मंगलबारदेखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ले काठमाडौंबाट सिधा उडान थालेको छ ।
तुम्लिङटार विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झन्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको हो ।
‘सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुने छ,’ विमानस्थल प्रमुख कोइरालाले भने । टर्बोप्रोप ट्वीन इन्जिनयुक्त एटीआर छोटो दुरीमा पर्ने क्षेत्रीय सहरहरु जोड्ने विमान हो । नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ ।२०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्थे । सशस्त्र द्वन्द्वपछी विराटनगर र काठमाडौंबाट हुने उडान रोकिएका थिए । द्वन्द्व सकिएपछि बुद्धले १९ सिटको बिचक्राफ्ट विमानबाट तुम्लिङटारमा उडान थालेको थियो । यात्रुको चाप बढ्दै गएपछि उसले ४७ सिटको एटीआर–४२ बाट उडान गरेको थियो । कोभिड महामारीपछि मकालु हिमाल आरोहण जाने पर्यटक तथा व्यवसायी र स्थानीयको चाप बढेपछि बुद्धले गत वर्ष जेठ २१ मा पहिलोपटक ठूलो जहाजबाट परीक्षण उडान गरेको थियो । उक्त उडानको प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटारमा एटीआर–७२ लाई पनि उडान अनुमति दिएको थियो ।
यो विमानस्थल समुन्द्र सतहबाट १३ सय १६ फिट उचाइमा पर्छ । काठमाडौंबाट ३५ मिनेटको हवाई दुरीमा रहेको यो विमानस्थलको धावनमार्गको लम्बाई १४ सय २० मिटर रहेको छ । तापक्रम वृद्धि हुँदा यहाँ ठूलो एटीआरलाई ‘लोड–रेस्ट्रीकसन’ लाग्ने भनिएको छ । यसो हुँदा तुम्लिङटार–काठमाडौं उडानमा यात्रुको केही संख्या घटाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १२ : ४३
लेखकबाट थप