काठमाडौँ । नेपालमा सञ्चालित अधिकांश मेडिकल कलेजका सञ्चालकहरु काँग्रेसी वा नेपाली काँग्रेसनिकट छन् । उनीहरु गोविन्द केसीलाई लगानी गर्छन् । एमबीबीएसको भर्ना वा प्रवेश परीक्षाको समयमा अनसनको नाटक गराउँछन् । विगतमा त्यस्तै हुन्थ्यो, यसपटक पनि त्यस्तै भएको छ । मेडिकल माफियाको लगानीमा नै यतिबेला नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलन गरिरहेको छ ।
नेपाली काँग्रेसको प्रायोजनमा पहिले जुम्ला र अहिले काठमाडौँमा चलेको डा. गोविन्द केसीको अनसन नेकपा नेता राजेन्द्र पाण्डेको मनमोहन मेडिकल कलेज र झापाको दुर्गा प्रसाईको मेडिकल कलेजविरुद्ध केन्द्रित छ । काँग्रेसका नेता तथा कार्यकर्ता जो जसले मेडिकल कलेज खोलेपनि गोविन्द केसी चुपचाप बस्ने, गगन थापाहरु लोकतन्त्र र खुल्ला अर्थ बजारको नारा दिने तर कम्युनिस्टसँग जोडिएका कोही कसैले मेडिकल कलेज खोले अनसन बस्नुपर्ने, आन्दोलन गर्नुपर्ने अवस्था लोकतात्रिक समाजका लागि सुहाउँदो विषय हुनै नसक्ने जानकारहरुको भनाइ छ ।
यातायात क्षेत्रमा रहेको सिण्डिकेट जोगाउन नसकेपछि काँग्रेस पछिल्लोपटक मेडिकलमा रहेको सिण्डिकेट जोगाउन न्वारनदेखिको बल निकालेर लागेको छ । यसले काँग्रेसलाई नै हानी गर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । विगतमा गगन थापा पनि स्वास्थ्य मन्त्री भएका थिए, उनले किन समस्याको समाधान गर्न सकेनन् भन्ने प्रश्न यतिखेर उठेको छ । उनले गोविन्द केसीको आग्रहमा नै काँग्रेसका केही मेडिकल कलेजलाई थप सुविधा दिएका थिए । थापाले त्यसमा विमलेन्द्र निधिको महेन्द्र नारायण मेमोरियल अस्पताल, काँग्रेसका बुद्धिजीवी भनिएका पुरुषोत्तम दाहालको बीपी स्मृति अस्पताल, प्रकाशमान सिंहको गणेशमानसिंह मेमोरियल अस्पताललाई कुस्त रकम बाँडेका थिए ।
संसदमा विधेयक छलफल गर्न नदिने, संसद अवरुद्ध गर्ने र हलो अड्काएर गोरु चुट्ने खेलमा काँग्रेस लागिरहेको छ । संसदमा छलफल गर्ने अवस्था आए विधि तथा प्रक्रियाका आधारमा कानुन पारित हुने अवस्था रहेको छ । तर काँग्रेस आफूलाई लोकतान्त्रिक पार्टी बताउने र संसद अवरुद्ध गर्ने खेलमा लागेको छ । संसदीय समिति गठनमा समेत काँग्रेसले भाँजो हाल्दै आएको छ । २० प्रतिशतमात्रै मत पाएको काँग्रेसले संसदीय समितिमा ३० प्रतिशत हिस्सा मागेपछि समिति गठन कार्य अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस