नेपाल ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै, सन्दीपलाई कीर्तिमान बनाउने मौका

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, ०८ : १२
नेपाल ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै, सन्दीपलाई कीर्तिमान बनाउने मौका

काठमाडौँ । नेपालले शुक्रबार एसिसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दै छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो।

ओमानविरुद्ध मैदान उत्रिएसँगै नेपालले आफ्नो ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पूरा गर्ने छ। खेल बिहान ९ बजे टियु मैदानमा सुरु हुने छ।

नेपालले सन् २०१८ को मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको थियो। त्यसपछि ०१८ को अगष्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेको थियो। त्यसयता नेपालले ४९ खेल पूरा गरेको छ।

४९ ओडिआईमा नेपालको २६ मा जित, २१ मा हार, एक मा बराबरी र एक खेलमा नतिजाबिहीन खेलेको छ। नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ। नेदरल्यान्ड्ससँग दुई ओडिआई खेल खेलेको छ। नेपालले हालसम्म कुल ७ देशसँग ओडिआई खेल खेलेको छ।

नेपालले आफ्ना अधिकांस खेल आइसिसी विश्वकप लिग–२ मा खेलेको छ। जहाँ ३६ खेल खेलेको नेपालले विश्वकप छनोटमा शीर्ष तीनमा रहेर स्थान बनाइसकेको छ। ४९ ओडिआई खेल्दा नेपालबाट ४ खेलाडीले कप्तानको भूमिका निभाइसकेका छन्।

जसमा पारस खड्काले ६, ज्ञानेन्द्र मल्लले १०, सन्दीप लामिछानेले १४ र रोहित पौडेलले १९ ओडिआई खेलमा कप्तानी गरेका छन्।

घरेलु मैदानमा जारी सिरिजमा नेपाल समूह चरणमा ओमान, कतार, मलेसिया र साउदीसँग प्रतिस्पर्धा गर्ने छ। नेपालको समूहमा ओमान र नेपाल सेमिफाइनलका मुख्य दाबेदार हुन। समूह बीमा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

प्रतियोगिताको उपाधि जित्ने टिमले एसियाकप खेल्ने छ। एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुने छन्। समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।

सन्दीपलाई कीर्तिमानको अवसर

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा आजको खेलमा ओमानविरुद्ध एक विकेट लिएमा ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाउने छन्। उनले एक विकेट लिएमा ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान आफ्नो नाममा बनाउने छन्।

सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन्। सन्दीपले आज एक विकेट लिएमा ४२ खेलमा एक सय विकेट ओडिआईमा पूरा गर्ने छन्। जुन ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान हुने छ।

ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ। राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए। सन्दीप ओडआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन्।

सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गरेका थिए। १९ औँ खेलमा श्रीलंकाका अजन्था मेन्डिसले ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन्। सन्दीप ओडिआईमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडीसमेत बन्ने छन्।

सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन्। सोमपाल कामीले ४४ खेलमा ६१ विकेट लिएका छन्। करण केसीले ३८ खेलमा ५६ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस