काठमाडौँ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यसहितको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटमा कार्यकारी अध्यक्ष थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै संघको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
अध्यक्ष थापाले लामो समयदेखि संघले उठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराइन् ।
सो अवसरमा आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधान समेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिई विश्वभरका गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न राष्ट्रपति समक्ष आग्रह गरे ।
यसैगरी संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहेपनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले सो विषय पनि केही समयभित्रै सम्बोधन हुने पौडेलको भनाई थियो। राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताए।
भेटका क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गोविन्द प्रसाद गौतम, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष लोक प्रसाद दाहाल,सह–कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, यूवा संयोजक अब्दूल वसिद, संस्थापक सचिव चिरिन्जीवि ढकाल, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सूवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, एनआरएन दक्षिण कोरियाका राजन कूवँर, एनआरएनएन यूएसएका पदम विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधित: राष्ट्रपति पौडेल
संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले गरे अन्त्य
दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति पौडेल