सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो ।
सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।
नदी प्रवाहमा आधारित विद्युत् आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ । साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ ।
परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताउनुभयो । विसं २०७२ को असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सिएमसिदि रिभेन्नाले पाएको थियो ।
सम्झौताअनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो । त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो ।
आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का माछापुच्छ«े एण्ड मेटल वर्क सप र इलोक्ट्रो मेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो । कूल २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कूल लागतमा निर्माण सम्पन्न भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा १० बैंकको यस आयोजनामा लगानी छ ।
केन्द्रीय प्रसारण लाइन जोडिएसँगै अबको १५ दिनभित्र व्यावसायिक उत्पादन गरिने कम्पनीका अध्यक्ष पाठकको भनाइ छ । यसअघि सोलुखोलामै निर्माण भएको २३ दशमलव पाँच मेगावाट क्षमताको अपर सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सोलुखोलामा अझै एक सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजना निर्माणको क्रममा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ माघ २०७९, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् चुहावट १२.७३ प्रतिशतमा सिमित
रसुवागढी आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली निर्यात
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
औद्योगिक क्षेत्रमा साँझको समयमा विद्युत् कटौती हुने
चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात