धनुषा । वर्षौदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराइन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पुर्याएको थियो ।
बस्ती बसेदेखि लालटेन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी गाउँबस्तीमा बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको बताएका छन् । ‘‘बिजुलीका लागि विगत एक दशकदेखि विद्युत् प्राधिकरणमा गुहार्दै आएका थियौँ”, स्थानीयवासी दिलीप लामाले भने, ‘‘तर दुर्गममा बस्ती छ, त्यहाँ विद्युतीकरण गर्न समस्या हुन्छ भन्दै सम्बन्धित निकाय पन्छिदै आएको थियो ।” अहिले बल्ल बस्तीमा झिलिमिली बत्ती बल्न थालेको छ, यसका कारण हामीलाई सहज भएको लामाको भनाइ छ ।
“गाउँमा बिजुलीको सुविधा नहुँदा वर्षौंदेखि स्थानीयवासी लालटेन र टुकी बालेर रात बिताउँदै आएका”, सिरहाको धनगढीमाई नगरपालिका–१४ मराईनका स्थानीयवासी सूर्य मगरले भने, ‘‘ढिलै भएपनि गाउँमा बिजुली पुगेको छ, यसका कारण गाउँ झिलिमिली बनेको छ र अब हामीलाई सहज भएको छ ।” बिजुली नुहँदा समान्य मोबाइल चार्जका लागि पनि धनगढी बजार धाउनुपर्ने बाध्यताबाटसमेत अब मुक्त भएको उनको कथन छ ।
अहिले पूरै गाउँ झिलिमिली छ । विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोेबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा स्थानीयवासी दङ्ग छन् । रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित भएको लामाले बताए ।
दुर्गम मानिएको ती बस्तीमा बिजुली पुर्याउन लामो प्रयासपछि बल्ल बिजुली ल्याउन सफल भएको धनगढीमाई नगरपालिका–१४ का वडाध्यक्ष अमित ठकुरीले बताए । ‘‘अत्यन्तै विकट ती गाउँबस्तीका स्थानीयवासीको प्रमुख माग नै बिजुली थियो”,वडाध्यक्ष ठकुरीले भने– ‘‘बाटोघाटो र यातायातको पहुँच नपुगेका यी बस्तीमा कसरी बिजुली ल्याउने भन्नेमा ठूलो चिन्ता थियो ।” तर विद्युत् प्राधिकरणसँग पहल गरेर बिजुली ल्याउन सफल भएको खुसी लागेको छ, उनले भने ।
पूर्व–पश्चिम राजमार्गदेखि करिब १० किलोमिटर उत्तर चुरे जङ्गल नजिकै रहेको सो वडाको करिब एक दर्जनबस्ती छन् । वर्षौंदेखि बिजुलीको सुविधाबाट वञ्चित ती बस्तीमा विद्युतीकरण कार्य सुरु भएसँगै पहिलो चरणमा खुट्टीखोला, मराइनको सबै र राईरैनीको केही भागमा बिजुली बत्ती बल्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।
सो वडाको दुर्गममा पर्ने पोलार, मैनामैनी, तोरिबारी, राईरैनी, अम्बासे, मोतिश्री, चट्टान, जामुनटार, डल्मेलगायतका गाउँ बस्तीमा बिजुली पुर्याउन चालू आर्थिक वर्षमा रु पाँच करोडको लागतमा विद्युतीकरणको कार्य सुरु गरिएको प्रमुख यादवले बताए ।
तीमध्ये तीन बस्तीमा बिजुुली बल्न थालेको र बाँकीमा यसैवर्षभित्र विद्युतीकरणको लागि बोलपत्र भइसकेको प्रमुख यादवको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०६ पुस २०७९, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात
नेपालको बिजुली बंगलादेश निर्यातको तयारी, सम्झौतामा आज हस्ताक्षर
गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
बिजुली पुगेपछि पटुकेबासी खुसी