गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, १२ : ०६
गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौँ । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको हो ।

वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए ।

रसुवाको सदरमुकामबाट गोसाईकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईकुण्डमा पुर्याइएको बताइएको छ । प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले गोसाईकुण्डमा विद्युत् पुर्याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस