नेपालको बिजुली बंगलादेश निर्यातको तयारी, सम्झौतामा आज हस्ताक्षर

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, ०८ : २३
नेपालको बिजुली बंगलादेश निर्यातको तयारी, सम्झौतामा आज हस्ताक्षर

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ ।

दुई देशका उच्च अधिकारीबीच विद्युत खरिद बिक्री सम्झौतामा आज हस्ताक्षरको तयारीपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको प्रवक्ता चटौतले जानकारी दिए ।

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो ।

दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको हिजो सम्पन्न छैटौँ बैठकले आज (बिहीबार) सम्झौता गर्ने निर्णय गरेको छ ।

सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो ।

प्रवक्ता चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुनेछ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनेछ ।

यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बङ्गलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी बैठकअगावै टुङ्गो लगाउने सहमति भएको छ ।

नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरिनेछ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गरिनेछ ।

वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बङ्गलादेशको समान कार्य गर्ने संस्थाबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने विषयमा पनि दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा सहमति भएको छ ।

यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नो तर्फबाट पहल गरिनेछ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेशले खरिद गर्ने सम्बन्धमा बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) बीच हुने विद्युत् व्यापार सम्झौताका सन्दर्भमा बङ्गलादेशले नेपाली अधिकारीलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस