दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १५ : ०४
दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ ।

प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड ५ लाखको विद्युत् निर्यात भएको जनाएको छ । साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।

दुई महिना विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा छ । साउनको प्रतियुनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा छ । भदौ तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौ दोस्रो साता (९–१५ गते) मा ६९ करोड ८ लाखको विद्युत् निर्यात गरिएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले चालू आव दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताएका छन् ।

‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु¥याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ घिसिङले भने ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

बाढी–पहिरोभन्दा पहिले दैनिक ९ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक डेढ सय मेगावाटमात्र निर्यात भइरहेको छ । बाढी–पहिरोका कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सहित करिब ७ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस