चितवन । चितवनबाटै सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) वितरणका लागि ट्रायल सेन्टरले पेश गरेको आर्थिक प्रस्तावको फाइल खोलिएको छ ।
आज (शुक्रबार) बिहान जिल्ला प्रशासन कार्यालयमा महालक्ष्मी ट्रायल सेन्टर र सद्धगुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले पेश गरेको आर्थिक प्रस्तावको फाइल खोलिएको हो। अख्तियारबाट फाइल प्राप्त भएसँगै खोलेर थप प्रक्रिया अघि बढाईएको यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए ।
‘अख्तियारबाट फाइनल हामीलाई प्राप्त भएसँगै आज जिल्ला प्रशासनमा दुबै ट्रायल सेन्टरका प्रतिनिधिको उपस्थितिमा फाइनल खोलियो’, भुजेलले भने । अब मुल्यङ्कन समितिले दुई मध्य एकलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्नेछ ।
अब दुई-तीन दिनमा मुल्यङ्कन समितिको बैठक बस्ने उनले बताए । आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था रहे पनि दुई(तीन दिन भन्दा बढी नलाग्ने उनले बताए । ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित हुनेछ । यसपछि सम्झौता हुने भुजेलले बताए ।
लगत्तै मेडिकलको पनि टुङ्गो लगाइने उनले बताए । उनका अनुसार यही वर्ष भित्र चितवनबाटै लाइसेन्स वितरण सुरु हुनेछ । ‘अब धेरै समय लाग्दैन । एक दुई महिना भित्र लाइसेन्स वितरणको काम सुरु हुन्छ’, उनले भने ।
जिल्ला समन्वय समिति (जिसस) को कार्यालय अगाडिको सरकारी अतिथि भवनबाट यातायात कार्यालयले सेवा दिदैछ । कार्यालय सञ्चालनका लागि आवश्यक तयारी भइरहेको भुजेलले बताए । तयारी पुरा भएपछि कोटा छुट्टाएर लाइसेन्सको काम अघि बढ्ने उनले बताए । हाल जिल्लामा ट्रायल सेन्टर नहुँदा काठमाडौं, वीरगञ्ज , हेटौंडा, कावासोती, बुटवललगायतका स्थानमा धाउनुपर्ने स्थानीयको बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १३ : २८
लेखकबाट थप