नेपाल लाइफ इन्स्योरेन्सको ठगि धन्दा

नेपाल लाइफ इन्स्योरेन्सको नामबाट नक्कली पोलिसी जारी

शुक्रबार, १५ असार २०७५, १३ : ३९
नेपाल लाइफ इन्स्योरेन्सको नामबाट नक्कली पोलिसी जारी

काठमाडौं । बैदेशिक रोजगारीका लागि कतार गएका सातजना कामदारका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको भेटिएको छ । ६ फेब्रुवरी २०१६ मा जारी भएको सो पोलिसी खरिद गर्ने कामदारमध्ये बिरामी भएका एकजनाले कम्पनीमा दाबी गरेपछि पोलिसी नै नक्कली भएको फेला परेको हो । केही समय पहिला प्राइम लाइफ इन्स्योरेन्सको नामबाट पनि वैदेशिक रोजगारीमा जाने कामदारको नक्कली पोलिसी जारी भएको भेटिएको थियो ।

 कम्पनीले नक्कली पोलिसी जारी नभएको दाबी गरिरहँदा नेपाल लाइफ इन्स्योरेन्सको पनि नक्कली पोलिसी भेटिएको हो । कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको जानकारीमा आएपछि इन्स्योरेन्स कम्पनीले बिमा समितिमा उजुरी दिएको छ । उजुरीकै आधारमा समितिले पनि सो विषयका बारेमा श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई पत्राचार गरेको बिमा समितिका प्रवक्ता पूजन ढुंगेलले बताइन् । रोलेक्स मेनपावर कम्पनीबाट विदेसिएका कामदारका लागि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट ७० लाख रुपैयाँ बराबरको नक्कली बिमालेख जारी भएको भेटिएको छ । कतार गएका कामदारबाट नक्कली बिमाशुल्कबापत २५ हजार ९ सय २८ रुपैयाँ संकलन गरिएको छ ।

 कम्पनीको नामबाट जारी भएको उक्त पोलिसी दोहोरो जारी भएको पनि भेटिएको हो । कम्पनीले उक्त पोलिसी न्यु जेनेरेसन इम्प्लोइमेन्ट मेनपावर कम्पनीमार्फत पहिले नै जारी गरिसकेको बताएको छ । रोलेक्स ह्युमन रिसोर्स कम्पनीमार्फत विदेश गएका कामदारको नाममा पनि सोही नम्बरको पोलिसी जारी भएको छ । रोलेक्स ह्युमन रिसोर्स मेनपावर कम्पनीले अभिकर्ता कोड नम्बर १०६३११११ प्रयोग गरी रामसागर महरा, लक्ष्मण ठाकुर, उपेन्द्रकुमार ठाकुर, शिव जोगी, रामपुकार राउत, रमेशकुमार बराही र मोहम्मद रोजाबा ढोबीको नाममा वैदेशिक बिमा योजना जारी गरेको छ । त्यस्तै, न्यु जेनेरेसन इम्प्लोइमेन्ट मेनपावर कम्पनीले सोही कोड नम्बरबाट नाफिज एहमद मिया, इर्साद अन्सारी, फैजुल्ला मिया, दीपेशकुमार यादव, दीपेन्द्रकुमार शर्मा, अजित खवास, रामबाबु ठाकुर बडाही नाममा बिमालेख जारी गरेको छ ।

 यसअघि बल्र्ड वेज मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएका १८ जना व्यक्तिको नाममा नक्कली पोलिसी जारी भएको भेटिएको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट जारी भएको नक्कली पोलिसीकोे आरोपमा गत चैत २७ गते महानगरीय प्रहरी वृत्त कालिमाटीले कम्पनीका अभिकर्ता प्रकाश रेग्मीलाई पक्राउ गरेको थियो । उक्त घटनामा कम्पनीको पनि संलग्नता भएको आशंकामा प्रहरीले कम्पनीका सञ्चालकसहित ९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो ।

 वैदेशिक रोजगारमा गएका कामदार असुरक्षित बन्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि बिमा अनिवार्य गरेको हो । बजारमा नक्कली पोलिसी जारी हुने गरेको विषयमा सरोकारवाला निकाय सबै जानकार छन् । तर, कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कुनै पनि निकाय संवेदनशील भएको देखिँदैन । कामदारले लिएको पोलिसी नक्कली हो वा सक्कली हो भन्ने विषयमा कहीँकतै चेकजाँच पनि हुँदैन । जसको फाइदा ठगहरूले लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस