चितवनमा छोरी मारेको आरोपमा किरिया बसेकै अवस्थामा आमा पक्राउ

विहीबार, १४ असार २०७५, १९ : २२
चितवनमा छोरी मारेको आरोपमा किरिया बसेकै अवस्थामा आमा पक्राउ

 चितवन  । आफ्नै छोरी मारेको आरोपमा चितवनको कालिका नगरपालिका वडा नं. ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला पक्राउ परेकी छन् ।
गत असार ८ गते शुक्रबार १४ वर्षीया छोरी ममता परियारलाई घाटी थिचेर मारेको आरोपमा ३५ वर्षीया आमा शोभा परियार पक्राउ परेकी हुन् । आज बिहान स्थानीय ३ सय भन्दा बढी महिलाहरुले छोरीको मृत्यु नभई सुनियोजित रुपमा हत्या गरिएको भनी किरिया बसेकै घरमा जुलुश र नाराबाजी गरेपछि प्रहरीले बाध्य भई आमालाई पक्राउ गरी लगेको स्थानीयवासीहरुले बताएका छन् ।

जमुनापुर मा.वि. मा कक्षा ९ मा अध्ययनरत ममता परियार स्कुलबाट घरमा आईपुग्दा आमा मादक पदार्थ सेवन गरिरहेको र छोरीले मादक पदार्थ नखान भनेपछि छोरीलाई आमाले अपशब्द प्रयोग गरेको स्थानीयले बताएका छन् ।
अपशब्द बोलेपछि छोरीले आमालाई थप्पड हानेको र सो रिसमा आमाले छोरीलाई घाटी थिची अन्दाजी ५–६ बजेतिर मारेको स्थानीयको आरोप छ । छोरीलाई घोडा चढे झैँ गरी चढेर घाटीमा थिची मारेपछि आमाले झुण्डिएर मरेको बनाउन सलले घाटीमा बाँधेर पंखामा झुण्ड्याएको र करिब ८ बजे मात्र स्थानीयहरुलाई छोरी झुण्डिएर मरिछ भनी बोलाएको स्थानीयको आरोप छ ।

स्थानीयवासीहरुले पटक पटक घटना सुनियोजित भएको भनी घटनाको छानविन गर्न आग्रह गरेपनि प्रहरीले चासो नदिएको उनीहरुको आरोप छ । प्रहरीले आरोपित परियारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टाँडी लगेपछि स्थानीय सयौँ महिलाहरु एवम् टोल सुधार समितिले दोषीलाई कारवाही गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा समेत दवाव दिन पुगेका छन् ।

घटनाको सन्दर्भमा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले आज आरोपित महिलालाई सोधपुछ एवम् अनुसन्धानका लागि ल्याइएको बताए । अनुसन्धानपछि मात्र सबै कुरा खुल्ने समेत उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस