अझै रोकिएको छैन विदेश जानेलाई लुट्ने काम

सफल खबर संवाददाता

विहीबार, १४ असार २०७५, १८ : ००
अझै रोकिएको छैन विदेश जानेलाई लुट्ने काम

चितवन । वैदेशिक रोजगारीमा जानेहरुलाई झुक्याएर लुट्ने काम अझै नरोकिएको सरोकारवालाले बताएका छन् । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको सरोकारवालासँगको समन्वयात्मक बैठकमा वैदेशिक रोजगारीमा भइरहेको ठगीबारे कुरा उठेको हो ।
गभर्नेन्स फ्यासिलिटी नेपालको सहयोगमा पिपुल फोरमले सञ्चालन गरेको आप्रवासी कामदारहरुको न्यायमा पहुँच सम्वद्र्धन परियोजनाको जिल्लास्थित कार्यालयका कानुनी सहायता अधिकृत अधिवक्ता सूर्यबहादुर बोहोराले सन् २०१८ को हालसम्म (६ महिनामा) विदेश जाँदा ठगीमा परेका आठ जनाले चितवनबाट कानूनी सहायता लिइरहेको बताउनु भयो । सोही अवधिमा कानूनी सल्लाह लिनेहरु ६२ जना रहेको बोहोराले जानकारी दिनु भयो ।
सरोकारवालाको बैठकमा बोल्दै चितवन बारका पूर्वअध्यक्ष धर्मराज आचार्यले विदेश जाने क्रममा ठगिएका व्यक्तिले कानूनी उपचारका लागि काठमाडौँ धाउनु पर्ने अवस्थाले न्यायमा पहुँच कठिन भएको बताउनु भयो । प्रहरीले श्रम ऐन अन्तर्गत मुद्दा चलाउँदा काठमाडौँ जानु परेपनि मुलुकी ऐन अन्तर्गत ठगीमा मुद्दा चलाउने हो भने जिल्लामै प्रहरीले ठगी कार्यमा संलग्नलाई पक्राउ गरेर कारबाही अघि बढाउन सक्ने उहाँले बताउनु भयो ।
माइती नेपालका क्षेत्रीय संयोजक इश्वर गिरीले वैदेशिक रोजगारीमा ठगीमात्र नभई मानव बेचविखनको समस्या पनि रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचविखन रोक्नको लागि सरोकारवालाबीच समन्वयात्मक प्रयास आवश्यक भएको बताउनु भयो । उहाँले आफन्तबाटै ठगी र बेचविखनका काम हुने भएकोले यसविरुद्ध काम गर्न सजिलो नभएको अनुभव सुनाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस