द्वन्द्वपीडित राजनको डाक्टर बन्ने इच्छा

बुधबार, १३ असार २०७५, १७ : १४
द्वन्द्वपीडित राजनको डाक्टर बन्ने इच्छा

सुर्खेत । दैलेखको महाबु गाउँपालिका– ५ गडिगाउँका १५ वर्षीय राजन रिजाल कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड ल्याउन सफल हुनुभएको छ ।

रिजालले दाङको तुलसीपुर उपमहानगरपालिका– १७ स्थित सहिद आवासिय विद्यालयबाट एसइई परिक्षा उत्तिर्ण गर्नुभएको हो । उहाँले एसइई परिक्षामा तीन दशमलव ७५ जिपिएसहित अति उत्तम (ए प्लस) ग्रेड ल्याउनु भएको हो ।

यसपालीको एसइई परिक्षामा उहाँ सामुदायिक विद्यालयबाट जिल्लामै उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुन भएको हो । पारिवारिक र आर्थिक स्थिति कमजोर भएका रिजाल कक्षा ११ मा विज्ञान विषय पढ्न चाहनुहुन्छ ।

“आर्थिक अवस्था कमजोर छ, इच्छा गरेर मात्र पुग्दो रहेनछ,” उहाँले भन्नुभयो । चिकित्सक बनेर दुर्गम क्षेत्रमा सेवा गर्ने उहाँ बताउनुहुन्छ ।

दुई वर्षको उमेरमा आमा गुमाई टुहुरो हुनुभएका रिजाल द्वन्द्वपीडित समेत हुनुहुन्छ । रिजालको परिवार २०६१ सालमा दैलेखबाट सुर्खेतको चिङगाड गाउँपालिकास्थित वाल शिशु स्याहार केन्द्रमा बसाइँ सरेको हो ।

विसं २०६६ मा उहाँ दाङको तुलसीपुर उपमहानगरपालिका– १७ स्थित सहिद आवासिय विद्यालयमा कक्षा २ मा भर्ना हुनुभएको हो । त्यहाँ उहाँले निःशुल्क अध्ययन गर्नुभयो । सोही विद्यालयबाटै एसइई परिक्षा उत्तिर्ण गर्नुभएका रिजालको भविष्यमा चिकित्सक बन्ने इच्छा छ ।

“पढाई खर्च जुटाउन धौ धौ भएको छ,” उहाँका बुबा नविनले भन्नुभयो । नविन हाल दैलेखको पत्रकारितामा सक्रिय हुनुहुन्छ । छोराको चिकित्सक बन्ने इच्छा पुरा गराउन उहाँले विभिन्न निकायसँग हारगुहार गरिरहनुभएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस