काठमाडौं। प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ ।
निर्वाचन आचारसंहिता बाहिर गई विज्ञापन भइरहेकाले त्यसको आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनुगमनका क्रममा सञ्चार माध्यमबाट विज्ञापनमार्फत प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार, समयावधि, पटक र सःशुल्क जनाउ गर्नेतर्फ चासो दिएको नपाइएको विषयमा काउन्सिलले यसअघि देखिन सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण एवं सचेत गराइरहेको छ ।
यो विषयमा विज्ञापनको नियमन गर्ने निकाय विज्ञापन बोर्डलाई समेत आवश्यक कारबाही गर्न लेखी पठाएको बेहोरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ, काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले बुधबार नै कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिकलगायत केही सञ्चार माध्यमलाई आचारसंहिता बाहिर गई विज्ञापन दिएको विषयमा सचेत गराएको छ ।
अनुगमनका क्रममा ९३ सञ्चार माध्यमले आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको देखिएको छ । विशेष अनुगमन प्रारम्भ भएयता कात्तिक ३० गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेका २२ वटा छापा माध्यम, पाँच वटा टेलिभिजन, रेडियो २०, ४६ वटा अनलाइन, ५ वटा वेबपोर्टलले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ ।
यी समाचार माध्यममध्ये ६ वटालाई निर्देशन, ५० वटालाई ध्यानाकर्षण, २२ वटालाई सचेत र १२ वटालाई स्पष्टीकरण सोधिएको छ । दर्ता, सूचीकरण नभएका ५ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन माध्यमलाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युट्युब च्यानल तथा फेसबुक पेजमाथि प्रेस काउन्सिलको निगरानी, गलत भए कारबाही गरिने चेतावनी
‘दि हिमालयन टाइम्स’माथि छानबिन गर्न काउन्सिलले बनायो समिति