ट्राफिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँछौंः प्रहरी निरीक्षक गौतम

बुधबार, ०६ असार २०७५, १७ : ४८
ट्राफिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँछौंः प्रहरी निरीक्षक गौतम

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुरका कलेजहरुमा ट्राफिक सचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिएको छ । विद्यार्थीहरुलाई प्रशिक्षणसंगै कलेजहरुमा ट्राफिक चिन्ह अंकित बोर्ड राखेर ट्राफिक सचेतनाको कार्यक्रमलाई निरन्तरता दिएको हो । 
आज (बुधबार) नारायणगढको एपेक्स कलेज, भरतपुरको प्रेसिडेन्सी कलेज, अर्किड कलेज, स्टेप बाई स्टेप बोर्डिङ स्कूललगायतका कलेज तथा विद्यालयमा ट्राफिक चिन्ह अंकित बोर्ड राखिएको छ । कलेजहरुमा अध्ययन गर्ने धेरैजसो विद्यार्थीहरुले ट्राफिक नियमको पालना नगर्ने भएकाले कलेजहरुमा नै ट्राफिक नियम उल्लेखीत बोर्डहरु राखिएको हो । 
यस्तै सो क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले विद्यार्थीहरुलाई नियम बारे जानकारी दिनुभएको थियो । प्रहरी निरीक्षक गौतमले ट्राफिक नियमको बारेमा विद्यालय र कलेजस्तरमै शिक्षा दिनु पर्ने भएकोले यस अभियानलाई निरन्तरता दिएको बताउनुभयो ।

उहाँले जिल्लाका सबै विद्यालय र कलेजहरुमा यो अभियानलाई  पुर्‍याईने बताउनुभयो । भर्खर मात्रै चितवन आईपुग्नु भएका प्रहरी निरीक्षक गौतमले विद्यालय र कलेजहरुको समन्वयमा यो अभियानलाई प्रभावकारी बनाईने बताउनुभयो । “बालबालिका र कलेजमा पढ्ने विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिनु जरुरी छ, यो अभियानलाई निरन्तर अघि बढाउँछौं”–प्रहरी निरीक्षक गौतमले भन्नुभयो । 
नारायणगढमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले ट्राफिक प्रहरीलाई ट्राफिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको थियो । सो बोर्ड यसअघि भरतपुर र पश्चिम चितवन र पूर्वी चितवनका विभिन्न विद्यालयहरुमा समेत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस