उपत्यकाका नेवार समूदायद्वारा रानी पोखरीको सरसफाई

मंगलबार, ०५ असार २०७५, १६ : ५८
उपत्यकाका नेवार समूदायद्वारा रानी पोखरीको सरसफाई

काठमाडौं । उपत्यकाका नेवार समूदायले इनार, ढुंगेधारा, कुवालगायतका पानीको स्रोतको सरसफाई गरी मंगलबार सिठी नखः चाड मनाएका छन ।
यसै अवसरमा स्थानीयबासीले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानी पोखरीको सफाई गरेका छन । मंगलबार विहानै रानी पोखरीमा पुगेर सफाई गरिएको हो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हिसिया यमीसहित सफाई अभियानमा सहभागी भएकाहरुले रानी पोखरीको पुनर्निर्माण ढिलाई नगर्न काठमाडौं महानगरपालिकाको गम्भिर ध्यानाकर्षण गराएका छन ।

पूरानै शैलीमा रानी पोखरीको पुनर्निर्माण गर्न दवाव दिन पनि  सिठी नखः पर्वको अवसर पारेर रानी पोखरीको सफाई अभियानमा सहभागी हुनु परेको स्थानीय आलोकसिद्धी तुलाधरले बताउनुभयो । पर्वको अवसरमा फूलमा चामलको पिठोको रोटी, मास, केराउ र मुगीको बारा, चटामरी खाने चलन छ । लिच्छवी कालदेखि यो चाड मनाउने परम्परा रहि आएको जनविश्वास छ ।

यो चाडमा उपत्यका भित्रको गढ, किल्ला, पर्खाल इत्यादिको मर्मत तथा सफाई गर्नुपर्ने परम्परा रहेको भक्तपुर दरबार क्षेत्रको बाहिरी भित्तामा राजा यक्ष मल्लले राखेको ताम्रपत्रमा समेत उल्लेख गरिएको छ । पानीको स्रोत मासिदै गएको काठमाडौं उपत्यकामा यसको संरक्षणका लागि पनि यो पर्वको विशेष महत्व रहेको विज्ञहरुले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस